धनगढी — कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करीको समस्या तीव्र रूपमा बढिरहेको छ। विशेष गरी कैलारी गाउँपालिकासँग जोडिएको सीमा नाकाबाट माछा, ब्रोइलर कुखुरा, र खाद्यन्नजस्ता बस्तुको अवैध चोरी तस्करी भइरहेको छ।
यी चोरी तस्करीबाट आएका गुणस्तरहीन भारतीय पंगास माछा र ब्रोइलर कुखुरा स्थानीय ग्रामीण क्षेत्रका मासु पसलहरूमा सजिलै पाइने गरेको छ। यसले गर्दा उपभोक्ताहरू यी अस्वस्थ्यकर सामग्रीहरू उपभोग गर्न बाध्य छन् भने, स्थानीय उत्पादक किसानहरू प्रतिस्पर्धा गर्न नसक्दा ठूलो समस्यामा परेका छन्।
कैलारी गाउँपालिका-३ मा पोल्ट्री फार्म सञ्चालन गर्दै आएका किसान अशोक चौधरीले भारतीय बजारबाट चोरी तस्करी भई आउने कुखुरा र माछाका कारण आफ्नो व्यवसाय संकटमा परेको बताए। लाखौं लगानी गरेर उत्पादन गरेको कुखुरा र माछा तस्करीबाट आएको सस्तो सामानसँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
बिओपी खोनपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक गन्डिव रसाइले सीमामा निगरानी बढाउने प्रयास गरेको र केही मात्रामा सामान जफत गरेर नष्ट गरेको बताए। तर, यो समस्याको नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले यी नाकाहरूमा कडाइ गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिने र संलग्नलाई कडा कारबाही गर्ने बताएका छन्। यसैबीच, कैलारी गाउँपालिकाका उपाध्यक्ष भागवती कुमारी चौधरीले प्रशासनसँगको समन्वयमा बजार अनुगमन गरिने र चोरी तस्करीको समस्यामा ध्यान दिइने बताइन्।




